Latest News

रसियाली युद्धविमान टर्कीमा घुस्यो युद्ध हुने संकेत !!!!

रसियाली युद्धविमान टर्कीमा घुसेपछि विवादएजेन्सी दमास्कस, २० असोज रसियाली युद्धक विमानले टर्कीको वायु सीमा उल्लंघन गरेपछि रसिया र टर्कीबीच विवाद भएको छ । रसियाले ‘भुलवश’ सीमा उल्लंघन भएको बताए पनि टर्की र नेटो सेनाले सुनियोजित रूपमा रसियाली विमान टर्किस आकाशमा प्रवेश गरेको दाबी गरेका छन् । टर्कीले रसियाली विदेशमन्त्री सर्गेइ लावरोभलाई शनिबार र आइतबार भएको दुई हवाई सीमा उल्लंघनबारे सचेत पारिसकेको छ । टर्किस विदेशमन्त्री फेरिदुन सिनिरलियोग्लुले वायु क्षेत्र उल्लंघन दोहोरिए त्यसको परिणामका लागि रसिया आफैँ जिम्मेवार हुने चेतावनी दिए । उता, नेटोले टर्कीको वायु सीमामा रसियाली लडाकु विमान घुस्नु ‘भुलवश नदेखिएको’ बताएको छ । 

नेटोका महासचिव जेन्स स्टल्टिेनबर्गले ‘निकै लामो समयसम्म भएको’ वायु सीमा उल्लंघनमा रसियाले वास्तविक स्पष्टीकरण नदिएको बताएका छन् । रसियाले भने खराब मौसमका कारण गत शनिबार केही सेकेन्ड वायु सीमा उल्लंघन भएको स्पष्टीकरण दिएको छ । दोस्रो उल्लंघनका बारेमा अनुसन्धान भइरहेको पनि उसले बताएको छ ।
 रसियाले अघिल्लो बुधबारबाट सिरियामा हवाई कारबाही थालेको थियो । स्टल्टेनबर्गले रसियाली उल्लंघन ‘अस्वीकार्य’ भएको र यसलाई नेटोले ‘निकै गम्भीर रूपमा लिएको’ बताए । तथापि, उनले रसियाली युद्धकविमानले टर्किस जेटमाथि ‘राडार लक’ गरेको समाचार पुष्टि भने भइनसकेको बताए । उनले नेटो र रसियाबीच सैन्य सञ्चारको रेखा भए पनि त्यसको प्रयोग नभएको बताए । ‘हुन सक्छ रसियाले सिरियामा स्थल र जल सेनालाई स्थापित गरेको छ,’ उनले दाबी गरे । उनले सिरियामा रसियाली हस्तक्षेप ‘चिन्ताजनक भएको’ बताउँदै नेटोसँग तनावको सम्भावना हटाउन अपिल पनि गरे । 

रसियाले आफूले इस्लामिक स्टेट र अन्य इस्लामिक अतिवादीलाई निशाना बनाइरहेको बताएको छ । तर, नेटो गठबन्धनले भने उसले राष्ट्रपति बसर अल असदका विरोधीमाथि हमला गरिरहेको आरोप लगाएको छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले हमलामा सर्वसाधारण मारिएको समाचारको खण्डन गरेका छन्, तथापि घटनास्थलबाट पाएको प्रमाणबाट त्यहाँ सामान्य नागरिकको मृत्यु भएको संकेत मिलेको छ । टर्किस विदेशमन्त्रीले नेटोका मन्त्रीहरूसँग पनि यसबारे छलफल गरेका छन् । 
नेटोमा टर्कीसहित २८ मुलुक सदस्य छन् । सिरियामा सन् २०११ को मार्चबाट राष्ट्रपति असदको राजीनामाको माग गर्दै सुरु भएको आन्दोलन गृहयुद्धमा परिणत भएको थियो । युद्धमा हालसम्म साढे दुई लाखको मृत्यु भइसकेको छ भने करिब ३० लाख विस्थापित भएका छन् । 
Loading...