Loading...
पटक पटक मन्त्री भइ उच्च ओहदको सुविधा लिँदै आएका महतोले लिएको नागरिकताको आधिकारिकतालाई लिएर गृह मन्त्रालयले २०६८ साल फागुनदेखि औपचारिक रुपमा छानविन थालेको तथ्याङ्कले देखाएको छ ।
तर त्यस बेला महतो स्वास्थ्य मन्त्री रहेकाले उनलाई कारबाही प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी सर्लाही जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई लेखी पठाएको देखिएको छ ।
सद्भावना पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री महतोले नेपाली नागरिकता कानुन विपरित लिएको भन्दै उजुरी परेपछि गृह मन्त्रालयले छानविन अगाडि बढाएको थियो । स्रोतका अनुसार महतोको जन्म भारतमा भएको हो । उनले नेपाल प्रवेश गरेर सर्लाहीबाट अंगिकृत नागरिकता लिएको आरोप छ ।
उनी उच्च पदमा रहेकाले स्थानीय प्रशासन र गृह मन्त्रालयले पनि महतोको नागरिकताको विषयमा धेरै खोजविन गरेको थिएन । तर अब उनलाई छानविन र कारबाहीको दायरामा राख्नुपर्ने जोडदार रुपमा माग उठ्न थालेको छ ।
सर्लाही जिल्ला प्रशासनले लेखेको पत्रमा भनिएको छ, ‘पत्रमा उल्लेखित नागरिकताको बारेमा छानविन गर्नको लागि हाल कुनै अभिलेख फेला नपरेको । यस बारेमा बुझ्दा माओवादी सशस्त्र जनयुद्धको समयमा मिति २०६२/१२/२३ गते मलंगवा आक्रमण हुँदा यस कार्यालयमा पनि आगो लगाइएको थियो । यसै क्रममा उक्त मितिभन्दा अघिको नागरिकता सम्बन्धी अनुसूचीलगायत सम्पूर्ण लगत तथा कागजपत्रहरू जलेर नष्ट भइसकेको हुँदा उक्त उजरी उपर छानविन एवम् कारबाही प्रक्रिया अघि बढाउन कठिनाइ भएको छ । साथै हालको मन्त्रिपरिषदको सदस्यलाई यस कार्यालयमा बोलाइ छानविन गर्न वाधा परेकोले सो सम्वबन्धमा आवश्यक निर्देशन पाउन समेत अनुरोध छ ।’
अहिले मधेसीलाई नागरिकता, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र तराईमा दुई प्रदेश चहियो भनेर नाकाबन्दी गरेर आन्दोलन गरिरहेका सद्भावना पार्टीका अध्यक्ष महतोलाई कारबाही गर्नुपर्ने माग पनि उठ्न थालेका छन् ।
Loading...
Social Buttons