Latest News

भक्तपुरका प्रवेश र अनिललाई उपाधि

waight 700काठमाडौँ, २३ असोज ।
प्रवेश श्रेष्ठ र अनिलकुमार थापा सातौं राष्ट्रिय खेलकुद– २०७२ अन्तर्गत १५ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा शनिबार आ–आफ्नो स्पर्धामा च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भक्तपुरका प्रवेश ८० केजी तौलसमूहमा पहिलो भए । सुनसरीका पारस भुजेल दोश्रो भए भने काठमाडौंका नरेश मालाकारले तेश्रो स्थानमा चित्त बुझाए ।
त्यस्तै चितवनका अनिलले ८० केजीमाथि शीर्ष स्थान हासिल गरे । नुवाकोटका तिलक तामाङ दोश्रो र झापाका तुल श्रेष्ठ तेश्रो भए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको ५५ केजीमा काठमाडौंका रवि महर्जन पहिलो, कास्कीका सुरेश गुरुङ दोश्रो र काभ्रेका उमेश बलामी तेश्रो भए । ६० केजीमा ललितपुरका रुजेश शाहीले स्वर्ण, कपिलवस्तुका सन्जिवकुमार श्रेष्ठले रजत तथा मोरङका रमेश कार्कीले कांस्य पदक हात पारे । ६५ केजीमा झापाका रामबहादुर दाहाल पहिलो, काठमाडौंका अनिललाल श्रेष्ठ दोश्रो तथा त्रिभूवन आर्मी क्लबका दीपकध्वज शाही तेश्रो भए ।
सातौं राष्ट्रिय खेलकुदको पहिलो राष्ट्रिय प्रतियोगिताको ७० केजीमा काभ्रेका रामहरि खनाल पहिलो, भक्तपुरका उज्ज्वलरत्न वज्राचार्य दोश्रो तथा रुपन्देहीका चन्द्रमान श्रेष्ठ तेश्रो भए । ७५ केजीमा काठमाडौंका महेश्वर महर्जन पहिलो, चितवनका नवीनकुमार गुरुङ दोश्रो र दोलखाका सुवर्ण खड्का तेश्रो भए । विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले पुरस्कृत गरे ।
त्यसअघि प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी समेत सम्हाली रहेका उपप्रधान एवं गृह मन्त्री वामदेव गौतमले प्रतियोगिताको उद्घाटन गर्दै सातौं राष्ट्रिय खेलकुद भब्य र सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिएका थिए । प्रतियोगितामा विभिन्न २५ जिल्ला र त्रिभूवन आर्मी क्लबका गरी जम्मा ६७ पुरुष खेलाडीले विभिन्न ७ तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए ।
पहिलो दिन शुक्रबार भएको प्रिजजिङ राउन्डको प्रत्येक तौलसमूहबाट ५–५ खेलाडी फाइनलमा प्रवेश गरेका थिए । अन्तिम दिन शनिबार तिनै खेलाडीबीच उपाधिका लागि भिडन्त भएको हो । प्रत्येक तौलसमूहको उपाधि विजेता मिस्टर नेपाल समेत बनेका छन् ।
Loading...