Latest News

संकटकाल घोषणा गर्न सरकारलाई प्रस्ताव

काठमाडौँ, १९ असोज । देशमा उत्पन्न असहज परिस्थितिको सामना गर्न संकटकाल लगाउन सरकारलाई दबाब बढ्न थालेको छ । यसैक्रममा वरिष्ठ अर्थविद् एवं प्राध्यापक डा. मदनकुमार दाहालले तत्काल संकटकालको घोषणा गर्न सरकारलाई प्रस्ताव गर्नुभएको छ ।
Madan-Dahal
दुई हप्तादेखि भारतले नेपालविरुद्ध अघोषित नाकावन्दी गरेकोले नेपालीको जनजीवन अति कष्टकर भएको भन्दै उहाँले संकटकाल घोषणाको प्रस्ताव गर्नुभएको हो । ‘भारतले मधेशवादी आन्दोलनकारीहरूको मागप्रति सहमति जनाउंदै नेपालको नयां संविधान २०७२ लाई समर्थन गरेन। यसै वहानामा विगत दुई हप्तादेखि भारतले नेपालविरुद्ध अघोषित नाकावन्दी गरेकोले नेपालीको जनजीवन अति कष्टकर भएको छ।’, उहाँको प्रस्ताव छ, ‘तसर्थ सरकारले मुलुकमा तत्काल संकटकालको घोषणा गर्नुपर्दछ र सो अनुरूप सरकारले जनतालाई सक्दो सहयोग प्रदान गर्दै धैर्य धारण गर्न आह्वान गर्नुपर्दछ। भारतले नेपाल तर्फ सुरक्षा नभएको कारण देखाएर पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्रकहरू भारततर्फ रोकेर राखेकोले पूर्ण रूपले सुरक्षाको प्रत्याभूति दिनु पर्दछ।’

नेपालको सर्वोपरि प्राथमिकताको विषय भनेको यथाशिघ्र नाकावन्दी खुलाउनु हो भन्दै उहाँले यसको निमित्त दुवै देशका प्रधानमन्त्रीस्तरमा अविलम्व सार्थक वार्ता गरी यथाशिघ्र संकटको समाधान गर्नुपर्ने बताउनुभयो । त्यसो नभए तत्काल सरकारबाट राजीनामा गर्न उहाँले आग्रह गर्नुभयो ।
Loading...