Loading...
काठमाडौं, ९ असोज ।
संविधान जारी हुँदा खुशी मनाउनु हुन्न भन्ने बाबुराम भट्टराई नै मधेशी मोर्चालाई सहयोग गर्न तराई लाग्न थालेपछि हौसिएका केन्द्रीय थारु नेताहरु शुक्रबार बिहानै तराई झरे। शनिबार तराईमा गरिने क्षेत्रीय प्रशिक्षण तथा समीक्षा कार्यक्रमका लागि उनीहरु तराई झरेका हुन्। थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको निर्णयअनुसार शनिबार बिहान ८ बजेदेखि बर्दियाको गुलरिया, नवलपरासी डन्डा, रौतहट र सुनसरीको दुहबीमा विशेष प्रशिक्षण र समीक्षा कार्यक्रम हुँदैछ। कार्यक्रममा ती क्षेत्रका जिल्लाका नेताहरु सहभागी हुने जनाइएको छ।
बर्दियाका लागि थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहित, फोरम लोकतान्त्रिकका जनकराज चौधरी, एमाओवादीका गौरिशंकर चौधरी र थरुहट तराई पार्टीका सचिव मीनराज चौधरी छन्। बर्दियाको कार्यक्रममा कञ्चनपुर, कैलाली, बाँके, बर्दिया र सुर्खेतका नेताहरु सहभागी हुनेछन्।
त्यस्तै डन्डामा हुने कार्यक्रममा फोरम लोकतान्त्रिकका नेता योगेन्द्र चौधरी, थरुहट तराई पार्टी नेपालकी उपाध्यक्ष गंगा थारु, संघीय लोकतान्त्रिक मञ्च थरुहटकी अध्यक्ष रुक्मिणी थारु, थारु विद्यार्थी समाजका उपाध्यक्ष शिवनारायण थारु छन्। टोलीमा समितिका संयोजक धनिराम चौधरी पनि सहभागी हुने बताइएको छ। डन्डाको प्रशिक्षणमा दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी र चितवनका नेताहरु सहभागी हुने बताइएको छ।
रौतहटमा हुने कार्यक्रममा थारु कल्याणकारिणी सभाका महामन्त्री अमिरी चौधरी, पूर्वमहामन्त्री राजकुमार लेखी, प्रेमीलाल चौधरी र फोरम लोकतान्त्रिकका युवा नेता शैलेन्द्र चौधरी छन्। रौतहट प्रशिक्षणमा पर्सा, बारा, रौतहट, सर्लाही र धनुषाका नेताहरु सहभागी हुनेछन्।
त्यस्तै सुसनसरीको दुहबीमा हुने कार्यक्रममा एमाओवादी नेता अमनलाल मोदी, थारु विद्यार्थी समाजका अध्यक्ष रमेश चौधरी, थारु कल्याणकारिणी सभाका कन्नुलाल चौधरी, सरस्वती चौधरी र फोरम लोकतान्त्रिकका गीता चौधरीलगायत छन्। कार्यक्रममा सिरहा, सप्तरी, उदयपुर, सप्तरी, सुनसरी, मोरङ र झापाका नेताहरु सहभागी हुनेछन्।
सीमाकंनलगायतका विषयमा असन्तुष्ट थारु नेताहरु विगत ४६ दिनदेखि आन्दोलनरत छन्। नयाँ संविधानमा मूल मुद्दाहरु नसमेटिएको भन्दै थारुहरुले आन्दोलन जारी राखेका छन्। सरकारले वार्ताको वातावरण बनाउनुको सट्टा आन्दोलनकारीमाथि धरपकड जारी राखेको भन्दै समितिले सशक्त आन्दोलन गर्ने बताइसकेको छ। समितिले अबको आन्दोलन सीमामा नाकाबन्दी र प्रमुख राजमार्गहरुमा २४ घन्टे धर्ना दिने जनाएको छ।
मधेशी मोर्चासँग मिलेर संविधानको विरोध नगर्ने निर्णय गरेका थारु नेताहरुले भारतीय विदेश सचिवसँग लैनचौरस्थित दूतावासमा भेटेपछि बाबुरामले झैं तराई झरी सहकार्य गर्ने तरखरमा छन् । विशेष दूतलाई भेट्न राजकुमार लेखीसँगै कांग्रेस सभासद तजुलाल चौधरी, थरुहट तराई पार्टीका गोपाल दहित, थारु कल्याणकारी सभाका धनिराम चौधरी, फोरम लोकतान्त्रिकका रामजनम चौधरी, योगेन्द्र चौधरी र रमेश चौधरी भारतीय दूताबास पुगेका थिए ।
- See more at: http://www.hamrosandesh.com/2015/09/44840.html#sthash.OjquUkI8.dpuf
Loading...
Social Buttons