Loading...
वासिङ्टन, ९ असोज-संयुक्त राज्य अमेरिका र चीनबीच जलवायु परिवर्तन र साइबर अपराधका विरुद्धमा संयुक्त रुपमा लड्ने सहमति भएको समाचार छ ।
प्राप्त समाचारअनुसार यी दुई देशका राष्ट्रपतिले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुबीच शुक्रबार भेटवार्ताका साथै संयुक्त पत्रकार सम्मेलन समेत सम्पन्न भएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच शुक्रबार संयुक्त राज्य अमेरिकामा सम्पन्न वार्ताका क्रममा सो सहमति भएको बताइएको छ ।
उनीहरुबीच चार घन्टासम्म भेटवार्ता भएको अमेरिकाबाट चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ । सो वार्ताका क्रममा विगतका दिनदेखि साइबर अपराधका घटनामा द्विपक्षीय विवाद उत्पन्न हुदै आएकोमा दुवै देशले यसका विरुद्धमा मिलेर लड्ने प्रतिबद्धता व्यक्त भएको बताइएको हो ।
साथै, शुक्रबारै उनीहरुबीच वासिङ्टनमा सामुहिक पत्रकार सम्मेलन भएको थियो । सो पत्रकार सम्मेलनका क्रममा दुवै नेताले एक आपसमा प्रसंशाका साथै आपसी विवादका बारेमा पनि सामान्य चर्चा गरेका थिए ।
सो पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ओबामाले जलवायु परिवर्तनका क्षेत्रमा मिलेर कामगर्ने प्रतिबद्धता चिनियाँ राष्ट्रपतिले व्यक्त गरेकोमा त्यसको प्रसंशा गरेका थिए ।
तर ओबामाले चीनको मानवअधिकारप्रतिको प्रतिबद्धताको भने प्रश्न उठाएका थिए । चीनले हालका राजनीतिक आश्थाका बन्दीप्रति गरेको व्यवहारका साथै मानवअधिकारको विषयमा चीनको सामान्य आलोचना गर्नुभएको बताइएको छ ।
चीन र अमेरिका विश्वका दुई ठूला अर्थतन्त्र हुन् र उनीहरुकै कारण जलवायु परिवर्तनका क्षेत्रमा असर पर्ने गरेको छ । जलवायु परिवर्तनका क्षेत्रमा यसैवर्षको अन्त्यसम्ममा पूरा गर्नुपर्ने कतिपय प्रतिबद्धताहरु पूरा नभएको र त्यसको कारण पनि यी दुई देश नै रहेको बताइन्छ ।
चीनमा कुनैपनि विदेशी लगानी तथा व्यापार प्रवर्धनका लागि चीनले कहिल्यै पनि अप्ठेरो अवस्थाको सिर्जना नगरेको भन्दै सबै विदेशीहरुका लागि आवश्यक पारदर्शी वातावरण सिर्जना गर्ने प्रतिबद्धता चिनियाँ राष्ट्रपतिले गरेका थिए ।
विदेशी लगानीकर्ताका लागि चीनले कहिल्यै पनि ढोका बन्द नगरेको र व्यापार प्रवर्धनमा चीन सरकार सधैँ सकारात्मक रहेको बारेमा आफूले जानकारी गराएको पनि उनले बताए ।
राष्ट्रपति सि बिहीबारमात्र वासिङ्टन पुगेका हुन् । तर उनी तीन दिनदेखि अमेरिकाको भ्रमणमा रहेका छन् । उनले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा नै अमेरिकाको राजकीय भ्रमणको कार्यक्रम मिलाएका थिए ।
राष्ट्रपति सिको सम्मानका लागि ह्वाइट हाउसमा कुनै पनि कसर बाँकी राखिएको थिएन । उनको पूर्ण सम्मानका साथ स्वागत र त्यस लगत्तै वार्ता पनि भएको थियो ।
विश्वको पहिलो र दोस्रो अर्थतन्त्र रहेका दुई देश क्रमशः अमेरिका र चीनले पछिल्लो समयमा धेरै कुरामा असहमति राख्दछन् । तरपनि पत्रकार सम्मेलनका साथै यस पटकको भेटवार्ताकै क्रममा भने दुई राष्ट्रपतिले कुनैपनि असहमति प्रकट गरेको देखिएन । रासस/एएफपी
- See more at: http://kathmandutoday.com/2015/09/137927.html#sthash.DmuvXgKc.dpuf
Loading...
Social Buttons