Latest News

मधेसी दललाई भूकम्पमा भत्केका घर बनाउन प्रधानमन्त्रीको निम्तो

धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संविधानसँग असन्तुष्ट सबै राजनैतिक दलहरुलाई वार्तामा आउन आव्हान गरेका छन् । 

शुक्रवार एमाले धरान उपमहानगरपालिकाको सातौँ अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले देशको समस्या समाधानका लागि असन्तुष्ट शक्तिहरुलाई वार्ताको टेबुलमा आएर आफ्ना जायज माग राख्नसमेत आग्रह गरेका छन् । 


भुकम्पले ध्वस्त देशमा विभिन्न बाहाना बनाएर आन्दोलन र नाकाबन्दी गर्नु अत्यन्तै गलत भएको भन्दै प्रधामन्त्री ओलीले चित्त नबुझेका कुरा वार्ताको टेबुलमा राखेर सहमतिको बाटो खोज्न आन्दोलनरत मधेसी दललहरुलाई आग्रह गरे । 

‘असन्तुष्ट पक्षका जायज माग सम्बोधन गर्न सरकार तयार छ’, उनले भने, ‘सरकार देशको हितका लागि जस्तोसुकै सहमति गर्न पनि तयार छ । तर कसैले मेरै गोरुको बाह्रै टक्का भनेर नाजायज माग ल्याउँछ भने सरकारले सहमति गर्ने छैन।’ 

उनले नेपाली काग्रेसलाई पनि विश्वासको वातावरण बनाई सरकारको पुनर्निर्माणको अभियानलाई सघाउन आग्रह गरे । 

प्रधानमन्त्री ओलीले अमेरिकामा संविधान जारी गर्दा ५२ प्रतिशत जनप्रतिनिधि र भारतमा ६५ प्रतिशतको सहमति जुटेको पृष्ठभूमिमा नेपालमा ९२ प्रतिशत जनप्रतिनिधिले जारी गरेको संविधानलाई खोट लगाउने ठाउँ नभएको बताए । 

उनले  संविधानमा असन्तुष्ट दलहरुका जायज मागलाई भने संशोधनमार्फत सम्बोधन  गरिने प्रतिबद्धता जनाएका छन् । 

मधेसवादी दलहरुले विभिन्न बाहानामा आन्दोलन गर्नु गलत भएको उनको तर्क थियो । ‘मधेसवादी दलहरुले आन्दोलनका कार्यक्रम छाडेर पाहाडे जनताका भत्किएका घर निर्माणमा कार्यकर्ता परिचालन गर्नु जरुरी छ’, उनले भने, ‘यसो भएमा मधेस र पहाडको सम्बन्धमा आमूल परिवर्तन आउने छ ।’

ओलीले प्रधानमन्त्री हुनुअघि भएको तराई बन्द र नाकाबन्दी आफू प्रधानमन्त्री भएपछि  फिर्ता गर्न आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

सरकार देशको विकासका लागि चिन्तित भएकाले सरकारको कामलाई सबैले सहयोग गरे देशले छिट्टै काँचुली फेर्ने उनले बताए । 

ओलीले मेचीदेखि महाकालीसम्म रेल सेवा संचालन गर्ने र पूर्व–पश्चिम राजमार्गलाई विस्तार गरी ६ लेनको बनाउने बताए । उनले जोगवनीदेखि किमाथाङ्कासम्म २ लेनको मोटरबाटो निर्माण गरी चीनसँगको व्यापार विस्तार गर्ने पनि बताए । 

ओलीले देशलाई लोडसेडिङबाट मुक्त बनाउन ३ करोड नेपाली जनताको सेयर लगानीमा स्वदेशमै जलविद्युत आयोजनाको काम सुरु गर्ने बताएका छन् । 

उनले सरकारले  देशको आमुल परिवर्तन गर्ने विकासप्रेमी बजेट ल्याउन लागेको पनि जानकारी दिए । आउँदो असारसम्ममा भूकम्पमा भत्किएका ८ लाख घरहरुको पुनर्निर्माण गरी सबै पीडितहरुलाई स्थायी बसोबासको व्यवस्था मिलाउने ओलीले प्रतिबद्धता जनाएका छन् ।

उनले देशको विकासलाई अगाडि बढाउन सरकारले नीति तथा कार्यक्रममार्फत आगामी बजेट उत्कृष्ट ल्याउने घोषना गरेका छन् । 

२०५१ सालको मनोमहान अधिकारी नेतृत्वको सरकारको जनमुखी बजेट ल्याउँदा आफू गृहमन्त्री भएको स्मरण गर्दै ओलीले अधिकारी सरकारको भन्दा उत्कृष्ट र जनमुखी बजेटमार्फत देशको विकास अगाढि बढाउने उद्घोष गरेका छन् । 

क्याप्सन ः प्रधानमन्त्री केपी ओली एमाले धरानको सातौ अधिबेशनलाई सम्बोधन गर्दै । तस्विर ः रत्नप्रसाद आचार्य ।
Loading...