Latest News

जोगबनी नाकामा प्रहरीको कुटाई खाएका राजेन्द्र महतोले आँखाको दृष्टि गुमाए !!!

Rajendra-Mahatoविराटनगर, १५ माघ । जोगबनी नाकामा अवरोध गर्न गएको बेला नेपाल प्रहरीको कुटाईबाट घाईते भएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो बाँया आँखाको ज्योति गुमाएका छन् ।
प्रहरीले बल प्रयोग गर्दा टाउकोमा गम्भीर चोट लागेका महतोलाई हाईपर टेन्सन अट्याकपछि बाँया आँखाको रेटिनाको नसा फाटेको र उनको आँखाको दृष्टि गुमेको छ । ब्लड सुगर र रक्तचाप अत्यधिक बढेपछि त्यसको असरले महतोले बाँया आँखाको दृष्टि गुमाएका छन् ।
महतोको आँखाको उपचारमा संलग्न विराटनगर आँखा अस्पतालका डा. सञ्जयकुमार सिंहले उनको बायाँ आखाको रेटिनाको नसा फाटेको र रगत जमेकोले गर्दा भिजिबिलीटी जिरो भएको बताए । ‘ब्लडप्रेसर अत्यधिक बढेपछि हाइपरटेन्सन अट्याकका कारण आखामा यो समस्या भएको हो,’ डा. सिंहले भने ।
विराटनगरस्थित रानी नाकामा धर्ना बस्ने क्रममा प्रहरीको कुटाईबाट घाइते भएका महतोको सुगर र ब्लडप्रेसर नियन्त्रण नभएपछि उनी उपचारका लागि नयाँ दिल्ली गएका थिए । लामो समयसम्म नयाँ दिल्ली स्थित मेदान्ता अस्पतालवाट उपचार गराई फर्केका महतो माघ ६ गते सिरहाको लहानमा फेरि अस्वस्थ्य भएका थिए ।
उच्च रक्तचापका कारण लहानमा अस्वस्थ्य भएका महतो रंगेली घटनाका घाइतेलाई भेट्न धरान पुग्दा एउटा आँखाको दृष्टिमा कडा समस्या भएको थाहा पाएका थिए । महतो रंगेली घटनाका मृतकका परिवारलाई भेट्न गएका बेला बाँया आँखाले हेर्न नसकेको समस्या भएपछि उनी विराटनगर आँखा अस्पतालमा जचाएका थिए ।
विराटनगर आँखा अस्पतालका बरिष्ठ बिशेषज्ञ सिंहको निगरानीमा महतोको आँखाको परीक्षण गरिएको थियो । डा. सिंहले भने, ‘अब पहिले जस्तै त स्पष्ट देख्न सक्नु हुन्न । तर अपरेशनपछि अहिले भन्दा अलि ठीक हुन सक्ने सम्भावना छ। अहिले औषधि दिइएको छ, सुधार भए ठिकै छ नभए अप्रेसन गर्नुपर्ने स्थिति आउँछ ।’ बाँया आँखाको रेटिनाको नसा फाटेर रेटिना वरिपरि रगत जम्मा भई भिजिविलिटी शून्य भएको अवस्था छ ।
दिल्लीबाट काठमाडौं हुँदै बलिदानी दिवस कार्यक्रममा सहभागी हुन सिरहाको लहान आएका वेला माघ ६ गते विरामी परेका महतोलगतै रंगेली घटना भएपछि चारदिन विराटनगर बसेका थिए । रक्तचाप र सुगर नियन्त्रणमा नआएपछि तीनदिन यता सुनसरीको धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान संस्थानका चिकित्सकको निगरानीमा उनले उपचार गराएका छन् ।
‘मेदान्तमा मुल रुपमा टाउकोको चोटको उपचार मात्र भएको थियो, विपी र सुगर बढ्ने क्रमले फेरि समस्या भएपछि धरानमा तीनदिन चिकित्सकको निगरानीमा उपचारसँगै आराम गर्नुभएको छ,’ महतोका एक सहयोगीले भने ।
विराटनगर नाकाको घटनापछि महतोको रक्तचाप र सुगरको स्तर नियन्त्रणमा आउन नसकेको उनले बताए । महतो ३ दिन यता धरानमा चिकित्सको निगरानीमा उपचार गराइरहेको र शुक्रवार साँझ धरानवाट सर्लाही जाने कार्यक्रम रहेको उनले जानकारी दिए ।
Loading...