Loading...
विराटनगर, १९ कात्तिक– नेपाल– भारत सीमामा पर्ने जोगबनीस्थित दसगजा क्षेत्रभित्र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अस्थायी क्याम्प खडा गरेको छ ।
दुई देशबीचको सम्झौता उल्लंघन गर्दै एसएसबीले बल मिच्याइँ गरेर क्याम्प खडा गरेको हो । एसएसबीले पाँच दिनअघि क्याम्प खडा गरेर कामकारबाही सञ्चालन गर्दै आएको छ ।
त्यसलाई फिर्ता पठाउन नेपाली पक्षले पनि पहल गर्न सकेको छैन । सीमाको दसगजा क्षेत्रलाई दुवै देशले प्रयोग गर्न मिल्दैन । त्यहाँ भौतिक संरचना निर्माण गर्न पनि पाइँदैन ।
दुई देशको सिमाना छुट्याउन गाडिएको पिलर छेउमै एसएसबीले क्याम्प खडा गरेको हो । दसगजाभित्र पर्ने विराटनगरबाट जोगबनी प्रवेशका लागि बनाइएको गेटदेखि भित्रपट्टि टेन्ट टाँगेर क्याम्प बनाइएको छ ।
एसएसबीको क्याम्प र नेपाली भूभागमा गाडिएको पिलरको दूरी दुई मिटरमात्रै छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनका क्रममा त्यहीं दसगजा क्षेत्रमा प्रवेश गरेर प्रदर्शनकारीले नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने गरेका थिए ।
दसगजा क्षेत्रमा राखिएका फलफूललगायतका फुटपाथ पसलको आडमा मोर्चाका कार्यकर्ताले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेपछि भारतीय सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मीको समन्वयमा त्यस्ता पसल हटाइएको थियो । त्यही ठाउँ ओगटेर एसएसबीले क्याम्प खडा गरेको नेपाल प्रहरीले जनाएको छ ।
दसगजा क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउने विषयमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच विराटनगरमा दुईपटक बैठक बसेर सहमति भएको थियो । गत वर्ष माघ र कात्तिकमा भएको सहमति कार्यान्वयनमा आउन नसकिरहेका बेला एसएसबीले क्याम्प खडा गरेको हो ।
यस विषयमा नेपाल प्रहरीका अधिकारीले कुरा राखे पनि एसएसबीका अधिकारीले खासै चासो दिएका छैनन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गंगाप्रसाद पौडेलले जोगबनी क्षेत्रमा एसएसबीले बनाएको अस्थायी क्याम्प हटाउन आग्रह गरिएको बताए ।
‘यस विषयमा माथिल्लो निकायमा समेत जानकारी गराइएको छु, उनले भने, ‘यसरी दसगजा क्षेत्रभित्र क्याम्प खडा गरेर आफ्नो कामकारबाही सञ्चालन गर्न दुवै देशका सुरक्षा अधिकारीले मिल्दैन ।’ गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकाल र परराष्ट्रका सहायक प्रवक्ता दीपक अधिकारीले भने यसबारे आफूहरूलाई थाहा नभएको बताए ।
अधिकारीले औपचारिक कार्यक्रम, समारोहबिना एकअर्काको मुलुकमा सुरक्षाकर्मीहरू बर्दी लगाएर बस्न, क्याम्प खडा गर्न नमिल्ने बताए । उनले भने, ‘यो अन्तर्राष्ट्रिय मान्यता र कूटनीतिक प्रचलनविपरीत हुन्छ ।’
ढकालले हालसम्म एसएसबीले दसगजा क्षेत्रमा आफ्नो शिविर राखेको सम्बन्धमा मन्त्रालयमा कुनै जानकारी नआएको बताए ।
अन्नपूर्ण पोष्टबाट
Loading...
Social Buttons